Rule 11A
प्रस्तावको क्षेत्र निर्धारण (स्कोपिङ्ग), प्रतिवेदन तयारी तथा स्वीकृति सम्बन्धी विशेष व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय विपद् वा प्राकृतिक प्रकोपको व्यवस्थापनसँग सम्बन्धित आयोजना वा नेपाल सरकारले तत्काल कार्यान्वयन गर्नु पर्ने भनी तोकेका योजना, आयोजना वा कार्यक्रमसँग सम्बन्धित प्रस्तावको क्षेत्र निर्धारण (स्कोपिङ्ग) गर्ने, प्रतिवेदन तयार गर्ने र प्रस्तावको स्वीकृति गर्ने कार्य देहाय बमोजिमको समयावधि भित्र सम्पन्न गर्नु पर्नेछ ः–
(क) नियम ४ को उपनियम (१) बमोजिम सुझाव लिने कार्य सात दिन,
(ख) नियम ४ को उपनियम (२) बमोजिम राय सुझाव दिने कार्य सात दिन,
(ग) नियम ७ को उपनियम (२) बमोजिम राय सुझाव दिने तथा सूचना प्रकाशन गर्ने कार्य सात दिन,
(घ) नियम ११ को उपनियम (१) बमोजिम प्रस्ताव स्वीकृति गर्ने वा प्रस्ताव स्वीकृतिको लागि प्रतिवेदन पठाउने कार्य पाँच दिन,
(ङ) नियम ११ को उपनियम (२) बमोजिम राय सुझाव लिनको लागि सूचना प्रकाशन गर्ने कार्य सात दिन,
(च) नियम ११ को उपनियम (३) बमोजिम राय सुझाव दिने कार्य दश दिन,
(छ) नियम ११ को उपनियम (५) बमोजिम प्रस्ताव स्वीकृति दिने कार्य बीस दिन ।
स्पष्टीकरण ः– यस नियमको प्रयोजनको लागि, –
(क) “राष्ट्रिय गौरवको आयोजना” भन्नाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना भनी तोकेका आयोजना सम्झनु पर्छ ।
(ख) “विपद् वा प्राकृतिक प्रकोप व्यवस्थापनसँग सम्बन्धित आयोजना” भन्नाले प्रस्तावसँग सम्बन्धित मन्त्रालयले विपद् वा प्राकृतिक प्रकोपको व्यवस्थापनसँग सम्बन्धित आयोजना भनी तोकेको योजना, आयोजना वा कार्यक्रम सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम प्रस्तावसँग सम्बन्धित मन्त्रालयले कुनै आयोजनालाई विपद् वा प्राकृतिक प्रकोपसँग सम्बन्धित आयोजना तोकेमा त्यसको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।